• निर्वाचन समाचार
advertisement

प्राचीन बस्ती जोगाउनेलाई भोट

मेनुका कार्की/ राजु बाँस्कोटा | शनिबार, १६ मङि्सर २०७४

प्रदेश ३ काठमाण्डौ निर्वाचन क्षेत्र - २


काठमाडौं : ‘भोट खसाल्न नगए छिमेकीले प्रश्न गर्छन्। भोट खसाल्न रहर नभए पनि बाध्यता छ। चुनावमा हामीले जुन पार्टीलाई भोट हाले पनि हुने केही होइन', दुई दशकदेखि साँखु सुनटोलमा पसल गर्दै आएका इन्द्रप्रसाद राजभण्डारीले भने। ‘नेता भ्रष्ट भएपछि विकासको आशा के गर्ने। कानुनी व्यवस्था भनिए पनि नेता-कार्यकर्ताको हालीमुहाली चल्छ', राजभण्डारीको दुखेसो छ, ‘चुनाव भनेको नेताले फोस्रो आश्वासन बाँड्ने विशेष समय मात्रै हो।'

१२ वैशाख ०७२ को भूकम्पले साँखुका पुराना प्रायः सबै घर भत्किएका छन्। भूकम्प पुनर्निर्माण यो क्षेत्र अस्तव्यस्त छ। भूकम्पपछि सरकारले दिएको पहिलो किस्ताको ५० हजार रुपैयाँले घर बनाउन सुरु गर्नसमेत नपुग्ने भएकाले पाँच प्रतिशतले मात्रै घर बनाएका छन्। घर बनाउन सुरु गरेका स्थानीयले पनि पुख्र्याैली सम्पत्ति बिक्री गरेर थालेका हुन्।

‘सरकारी सहयोग र प्रोत्साहन नभएको तथा जुन नेता आए पनि आफ्ना दुःख आफैंसँग रहेको' भूकम्पपीडितको सूचीमा आफ्नो नाम छुटाएकोप्रति राजभण्डारीको आक्रोश सरकारी निकायप्रति पनि उत्तिकै छ। पहिलाको तुलनामा प्रविधिको प्रयोग बढेकाले चुनावी नारा र अभियान परिवर्तन हुँदै गएको छ सकारात्मक मान्न थालेको साँखुकै इपाटोलका स्थानीय दिलीपकुमार श्रेष्ठ बताउँछन्।

०७० को दोस्रो संविधानसभा चुनावमा कांग्रेसका दीपक कुइँकेलबाहेक ०४८ देखि नै निरन्तर एमालेले जितेको काठमाडौं क्षेत्र नम्बर २ मा यसपटक पनि वाम र लोकतान्त्रिक गठबन्धनबीच नै प्रतिस्पर्धा हुनेछ। स्थानीय तह चुनावका आधारमा यो क्षेत्रमा वामपन्थीले बाजी मार्ने अनुमान यहाँका बासिन्दाको छ। शंखरापुर नगरपालिकाको ६ र ७ वटामा पर्ने साँखुमा यसअघिको स्थानीय चुनावमा भने राप्रपाले जितेको थियो।

पूर्णतय नेवार बस्ती रहेको प्राचीन सहर साँखुलाई एक हजार घरको सहर भनेर बुझ्ने गरिन्छ। यो क्षेत्रमा रहेका एक हजार घरको बस्तीमा आधुनिकले छोपेको छैन। नयाँ घर पनि पुरानै संरचना तथा प्राचीन महत्व झल्कने गरी बनाइन्छ। हरेक घरको पानी तथा ढलको निकास राजकुलोबाटै निकास हुन्छ। स्थानीयको रहनसहन, रीतिरिवाज, खानपान आज पनि उस्तै रहेकाले प्राचीन महत्व जोगाउन सकिएको श्रेष्ठको दाबी छ। उनले भने, ‘साँखु क्षेत्रमा मनाइने विभिन्न जात्रा तथा नेवारी संस्कारलाई आजसम्म टिकाउन सकिएकाले नै काठमाडौंका अन्य सहरको तुलनामा साँखुको महत्व अहिले पनि उस्तै छ।'

पुरानो बस्ती भए पनि व्यवस्थित ढंगले बनाइएका घर, बाटो र टोलले अहिलेसम्मको साँखुको साखः जोगाउन सकेको स्थानीयको बुझाइ छ। यहाँको साखः जोगाउने उम्मेदवारले चुनावमा प्राथमिकता पाउने बुझाइ श्रेष्ठको छ। सहर पुरानो भएकाले यसको महत्व दर्शाउने गरी संरक्षण गर्नु, आधुनिकताको नाममा विकृति रोक्ने र पुरानो भए पनि व्यवस्थित बनाएर विकास निर्माणको एजेन्डा अगाडि सार्ने उम्मेदवारलाई भोट दिने चाहना साँखुवासीका रहेको अन्नपूर्णसँग कुराकानी सबै स्थानीयले बताए।

साँखु क्षेत्र प्रवेश गर्ने चारवटा द्वारले आ-आफ्नो महत्व बोकेका छन्। बसपार्कसँगै जोडिएको दक्षिण-पश्चिम गेटबाट साँखुबासी नयाँ बुहारी भित्याउँछन् भने दक्षिण-पूर्वीतर्फकोबाट छोरी अन्माउँछन्, उत्तर-पूर्वी अर्थात् बज्रयोगिनी मन्दिरतर्फको द्वारबाट साँखु क्षेत्रभित्रका भगवान् आवतजावत गर्ने र उत्तर-पश्चिम द्वारलाई मृत्यु संस्कारसँग जोडिएको छ।

यो क्षेत्रमा हुने विभिन्न जात्रा पर्व, स्थानीय संस्कृतिलाई प्रवद्र्धन गर्ने व्यक्तिलाई पनि साँखुवासीले नेतृत्वमा पुर्‍याउन चाहने इपाटोलका स्थानीयको भनाइ छ।
‘भूकम्पले घर भत्कियो हामी टहरामा बसेका छौं', ५५ वर्षीया दयालक्ष्मी महर्जनले भनिन्। ‘आफ्नो नाममा जग्गाको लालपुर्जा नहुँदा बैंकबाट ऋण लिनसमेत पाएनौं। त्यसैले घर बनाउन सकेका छैनौं। डेढ वर्षअघि नै सेतोपुर्जा आए पनि मालपोत कार्यालयले रातोपुर्जा दिएको छैन।'

पुख्र्यौली सम्पत्ति भए पनि हालसम्म लाजपुर्जा नपाउँदा र झन्झटिलो सरकारी प्रक्रियाले डेढ दशकदेखि सम्पत्तिको हक पनि नपाएको गुनासो साँखुवासीको छ।
यो क्षेत्रका स्थानीयले पुख्र्यौ सम्पत्ति आफ्नो बनाउन पनि प्रक्रियागत झन्झट र सरकारले आफ्ना समस्यालाई प्राथमिकतासाथ नहेरेको गुनासो गरे। साँखु क्षेत्रका घरजग्गा हालसाविक भइरहेकाले घरजग्गा अद्यावधिक भएपछि लालपुर्जा वितरण गरिने साँखु मालपोत कार्यालय प्रमुख किरण भट्टराईले बताए।

‘सरकारले दिएको ५० हजारले भएकै घर भत्काएर जग खन्न पुग्दैन। डीपीसी नगरी दोस्रो किस्ता लिन पाइँदैन। जमिन राखेर घर बनाऊँ भने आफ्नो नाममा लालपुर्जा छैन', स्थानीयले गुनासो गरे। शंखरापुर नगरपालिका ६ सुन्टोलका ७० प्रतिशत घरपरिवारको लालपुर्जा छैन। सेतोपुर्जा हुनेले भूकम्पपछि पाइने अनुदानको पहिलो किस्ता ५० हजार लिए पनि धेरै स्थानीयले भने पहिलो किस्तासमेत पाएका छैनन्।

भूकम्प गएको ३२ महिना बित्दा यो टोलमा मुस्किलले ५ प्रतिशत मात्र घर बनेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेकालाई समेत पहिलो किस्ता उपलब्ध गराउन नसकेको शंखरापुर नगरपालिका-६ का वडासचिव किरण नापितले जानकारी दिए। महाभूकम्पले प्राचीन सहर साँखुको पुराना घरमध्ये ९९ प्रतिशत र मठमन्दिर पूर्णरूपमा क्षति भएको छ। भूकम्पले घर भत्कँदा साँखु बजारमा मात्रै एक सय १७ जनाले ज्यान गुमाएका थिए।

‘यहाँ रहेको गणेश, महादेवलगायत मठमन्दिरको पुनर्निर्माण भने गत मंगलबार मात्रै सुरु भएको छ भने आमआदिवासीले राहत पाउने त कहिले हो कहिले ? उनले भने, ‘शंकरापुरमा रहेको बज्रयोगिनी मन्दिरको पुनर्निर्माण कार्यचाहिँ गत वर्षबाटै थालिएको छ।'

काठमाडौंबाट १५ किलोमिटर दूरीमा रहेको साँखुले छुट्टै पहिचान बोकेको छ। साँखु प्राकृतिक रूपमा सुन्दर, सांस्कृतिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण पुरातात्विक भूमि हो। हिन्दु धार्मिक ग्रन्थ स्वस्थानी व्रतकथा किताबमा वर्णित लावण्य देश नै अहिलेको साँखु हो । साँखुको चारद्वारभित्र घर निर्माण गर्दा अगाडिको मोहोडामा सटर नराख्ने, प्लास्टर नगर्र्ने, पुरानो मोडेलका झ्याल-ढोका राखेर प्राचीन महत्व जोगाउन खोजिएको छ।

साँखुवासी आफ्नो क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने नेता जन्माउन नसकेकोमा दुःखी छन्। नगरपालिका बनेसँगै आएको स्थानीय सरकारले साँखुसँग जोडिएका शाखा बाटाको यही आवभित्र ग्राभेल सक्ने योजना बनाएको छ। पौराणिक कालदेखि नै व्यवस्थित सहरको अवधारणामा बनाइएको साँखु बजारमा सुख्खायाममा पानीको समस्या छ। बाटोको समस्या भने विस्तारै समाधान हुँदै जान थालेको छ। स्थानीयले अवसर र आधुनिकतासँग घुलमिल भएसँगै परम्परागत कृषि पेसा गर्न छाडेका छन्। कुनै समय अन्न र तरकारीको भण्डार भनेर चिनिने साँखुका जमिनमा ज्याला लगाउन महँगो हुँदै गएको र मिहिनेतअनुसार बालीनाली हुन छाडेपछि जमिन बाँझै राख्न बाध्य भएको स्थानीय तुलसीमाया पुक्सीले बताइन्।

७४ हजार सात सय ५६ मतदाता रहेका काठमाडौं क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धामा वाम गठबन्धनका माधवकुमार नेपाल, लोकतान्त्रिक गठबन्धनबाट दीपकप्रसाद कुइँकेल, विवेकशील साझाका सूर्यराज आचार्य मुख्य प्रतिस्पर्धामा छन्। यो क्षेत्रमा संघीय समाजवादी फोरमका शहरमान राई, राष्ट्रिय जनता पार्टीका राधाकृष्ण कार्की, नेपाल मजदुर किसान पार्टीका राजवीर डंगोल, नयाँ शक्तिका गणेशप्रसाद सिंखडा, राष्ट्रिय जनमोर्चाका राजेन्द्र शर्मा, जनसमाजवादीका राजन दाहाल, नेपाली जनता दलका रामबालक साह सडी, हाम्रो पार्टीकी शोभिता घिमिरे, देशभक्त जनगणतान्त्रिक मोर्चाका धनबहादुर पन्त, एकीकृत राप्रपा राष्ट्रवादीका श्रीहरि चापागाईं, नेपाली ग्रिन्सकी रचना श्रेष्ठसहित २३ जना प्रतिस्पर्धामा छन्।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार