• निर्वाचन समाचार
advertisement

रूपन्देही ३ : भुसाल र बोहराबीच टक्कर

श्रीधर खनाल/लक्ष्मण पोखरेल | सोमबार, १८ मङि्सर २०७४

प्रदेश ५ रुपन्देही


बुटवल : भैरहवामा शनिबार आयोजित पत्रकार सम्मेलनमा वाम गठवन्धनका उम्मेदवार घनश्याम भुसालले एउटा तीरले दुई चरा मार्ने प्रयास गरे। उनले भने, ‘चुनाव प्रचारप्रसारमा लोकतान्त्रिक, समाजवादी र प्रजातान्त्रिक कांग्रेस संयमित छ। उहाँहरूले तडकभडक देखाउनुभएको छैन।’ 

भुसालले सार्वजनिक रूपमा कांग्रेसको प्रशंसा मात्र गरेनन् आफ्ना प्रतिद्वन्द्वी दीपक बोहराको खेदो खने। मञ्चबाटै भने, ‘अब साडी र पोल बाँडेर चुनाव जित्ने सपना नदेखे हुन्छ।’ भुसालको यो अभिव्यक्तिले यस क्षेत्रमा कांग्रेसका उम्मेदवार नभएका कारण कांग्रेसको मतको आस उनले गरेको देखिन्छ।

माओवादीको मत तान्ने प्रयासमा लागेका राप्रपा प्रजातान्त्रिकका नेता बोहरालाई कांग्रेसको समर्थन छ। कांग्रेस केन्द्रीय नेताको समर्थन पाएका बोहरा चुनाव जित्ने कुरामा ढुक्क देखिन्छन्। कांग्रेसको केही मत तान्ने मात्र होइन, एमाले र माओवादीकै मतका कारण अगाडि रहेकाले भुसाल आफूलाई बलियो मानेका छन्। चुनाव प्रचार प्रसारमा भुसालले लोकतन्त्र र सामाजिक न्याय बुझेका कांग्रेसले आफूलाई भोट दिने दाबी गरेका छन्। ‘मेरो विपक्षी उम्मेदवारको छवि र सुरजपुरा घटनामा उनको संलग्नताले लोकतन्त्रमा विश्वास गर्ने कांग्रेसले उनलाई भोट दिन सक्दैन’, उनले भने।

भुसालले कांग्रेसको मतलाई मात्र जितको आधार बनाएका छैनन्। स्थानीय निर्वाचनमा यो क्षेत्रमा एमाले र माओवादीले ३१ हजार ५ सय मत पाएका थिए। राप्रपा प्रजातान्त्रिक र कांग्रेस मत जोड्दा २६ हजार नौ सय छ। यो निर्वाचन क्षेत्रमा जनमुक्ति र फोरमको करिब चार हजार मत छ। यस क्षेत्रमा फुटअघि राप्रपाको मत ६ हजार मात्रै थियो।

राप्रपा प्रजातान्त्रिकका नेता बोहराले गठबन्धनको मत देशव्यापी रूपमा दायाँ बायाँ नहुने बताए। ‘हाम्रो तालमेलको आधार दरिलो छ। कांग्रेसको सबै मत हाम्रो मत र यो क्षेत्रको विकासका लामो समयदेखि मैले खेलेको भूमिकाले चुनाव नजित्ने कुरै आउँदैन’, बोहराले भने। पञ्चायतकालमा भएको सुरजपुरा हत्याकाण्डका विषयमा अहिले चर्र्चा हुन थालेको छ। ०४० सालमा सुरजपुरामा गिरिजाप्रसाद कोइराला आएका थिए। कोइरालालाई जिउँदै जलाउने सोचका साथ पञ्चायत समर्थक युवाले पुष्पानन्द गिरी बसेको घरमा आगो लगाउँदा तीन जनाको मृत्यु भएको थियो।

अर्कोतर्फ समानुपातिक उम्मेदवार बालकृष्ण खाणले भाइलाई तिलोत्तमा नगरपालिकाको मेयर बनाएपछि अरू नेता रुष्ट बने। अहिले पूर्वकेन्द्र्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकार, पूर्वजिल्ला सभापति रामचन्द्र ढकाल, रोमणि पाठकलगायत नेताको उम्मेदवारी अन्तिम समयमा फुत्कियो। त्यसको दोष बालकृष्ण खाणमाथि थोपरिएको छ। खाणले कांग्रेसका अन्य उम्मेदवारलाई नउठाई दीपक बोहरालाई अघि सारे पनि विवाद उत्तिकै छ। कांग्रेसका स्थानीय नेताले खाणको रिसले बोहरा हराऊ अभियान नै चलाएको बताइन्छ।

०५२ सालको उपनिर्वाचनमा कांग्रेसका रामकृष्ण ताम्राकारलाई हराउँदै सांसद बनेका भुसाल त्यसयता संसद्बाहिरै रहेका नेता हुन्। त्यसअघि ०४८ सालमा रूपन्देही क्षेत्र नम्बर १ मा पराजय भएका थिए। पार्टीमा सैद्धान्तिक तथा वैचारिक क्षेत्रका मुख्य नेता भुसाल ०७० को निर्वाचनमा क्षेत्र नम्बर ३ बाट कांग्रेस नेता बालकृष्ण खाणसँग जम्मा ८५ मतले पराजित भएका थिए।

 राप्रपाका बोहरा पञ्चायतकालदेखिका सदावहार उम्मेदवार हुन्। आफ्नै पार्टीका मधेस विभाग प्रमुख आनन्द ढुंगानाको बागी चुनौतीसँगै बोहरा चुनावी मैदानमा छन्। छैटैाँ पटक चुनावी मैदानमा उत्रिएका उनी बहुदलपछि ०७० निर्वाचनमा मात्रै विजयी भएका थिए।

पञ्चायतदेखिको टक्कर

०३५÷३६ सालतिर पञ्चायती व्यवस्थाविरुद्धको आवाज उठाउने विद्यार्थीको अग्रपंक्तिमा थिए, घनश्याम भुसाल। गीर्वाण स्कुलमा कक्षा ९ पढ्दै गर्दा उनी र उनका झोलामा राता किताब हुन्थे, जसमा कम्युनिस्ट राजनीतिका सिद्धान्त लेखिएका हुन्थे। ती राता किताब बोक्नेहरू खोज्दै हिँड्नेलाई ठेगान लगाउने अर्को समूह थियो, राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल। जसको सूत्रपातमध्येका एक थिए बोहरा। भुसालको भनाइमा बोहरा पञ्चायतका ‘आच्छा-खासा’ मान्छे थिए। भुसालहरू पञ्चायत हटाउने अभियानमा लुकेर काम गर्थे। बोहराहरू पञ्चायत विरोधीहरूलाई दबाउन हरतरह कोसिस गर्थे। पाल्पाका बडाहाकिमका छोरा बोहरा पञ्चायतमै मन्त्री पद पाउने भाग्यमानी व्यक्ति हुन्।

संघीय गणतन्त्र नेपालको पहिलो प्रतिनिधिसभा निर्वाचन हुँदै गर्दा तिनै पञ्चायतकालका दुई पात्र चुनावी मैदानमा आमने-सामने भएका छन्। पञ्चायतकालमा उनकै विरुद्धमा लडेका कांग्रेस नेता बालकृष्ण खाणले राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष बोहरालाई मैदान खाली गरिदिएका हुन्।

पञ्चायतमा विचारको युद्धमा भेटिएका भुसाल र बोहरा ०५१ सालको निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर १ को चुनावी मैदानमा पनि थिए। भुसाललाई पराजित गर्दै बोहरा संसद्मा पुगे। यी दुई नेताको दोस्रो ‘इनिङ’लाई रूपन्देहीमा खुबै महत्वसाथ हेरिएको छ। पटक-पटक सत्तामा पुगेर मन्त्री बनेका बोहरा निकै चलाख नेताका रूपमा परिचित छन्। राप्रपा विभाजनका समयमा विभिन्न गुट-उपगुट निर्माणमा माहिर मानिने बोहरा सातौं पटक चुनाव लडिरहँदा दुई पटक सफल भएका छन्।

भुसाल तेस्रो पटक चुनावी मैदानमा उत्रिएका छन्। ०५२ सालको उपचुनावमा भैरहवा क्षेत्रबाट उनी विजयी भएका थिए। पार्टीमा वैचारिक बहस चलाउने भुसाल विकास क्षेत्रमा कम चर्चाका नेताका रूपमा चिनिन्छन्। त्यसका बाबजुत पनि उनी महत्वपूर्ण विकासे योजनाको खाका बोकेर चुनावी मैदानमा होमिएका छन्।

‘म कुनै साना कुरा गरेर उम्मेदवारले जित्छन् भन्ने पक्षमा छैन, बिजुलीको दुई÷चार पोल बाँड्दैमा मतदाताले जिताउने दिन गइसके, उनी भन्छन्, ‘समृद्ध मुलुक निर्माणको अभियानमा ठूला सपना लिएर अघि बढ्नुपर्छ।’ सुनौली नाकालाई चीन र भारतको व्यापार नाका, लुम्बिनीको पर्यटनसँग जोडेर सिद्धार्थनगरलाई अन्तर्राष्ट्रिय सहर निर्माण, औद्योगिक क्षेत्रको विकास, विद्युत्, खानेपानी, सडक निर्माणलगायत योजना भुसालले अघि सारेका छन्।

स्वास्थ्यमन्त्रीसमेत रहेका बोहराले रूपन्देहीको कृषि उत्पादनका बेला सिँचाइ क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको बताउँछन्। ‘०३८ सालदेखि सरकारमा रहेर रूपन्देहीको विकासमा महत्वपूर्ण काम गरिरहेको छु, उनी भन्छन्, ‘लोकतन्त्र रक्षा र देश विकासका लागि मबाट निरन्तर काम हुनेछ।’ बोहराले सुनौली कोरला मार्ग निर्माणमा जोड दिँदै भैरहवालाई औद्योगिक क्षेत्र बनाउने योजना ल्याएका छन्। 
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार