• निर्वाचन समाचार
advertisement

‘राति तीन घन्टा मात्र सुत्छौं

राजेन्द्र कार्की | बुधबार, २० मङि्सर २०७४

प्रदेश ६ जाजरकोट


जाजरकोट : मतपेटिकाको सुरक्षाका लागि राजनीतिक दलको तर्फबाट खटिएका प्रतिनिधि राति तीन घन्टा मात्र सुत्ने गरेका छन्। अविश्वासका कारण मतपेटिका कुर्न बसेका प्रतिनिधि राति दुईदेखि बिहान पाँच बजेसम्म मात्र सुत्ने गरेका हुन्। मतपेटिका फेरिन सक्ने भन्दै दलले मतपेटिका राखिएको ठाउँमा आफ्ना प्रतिनिधि सुताउने गरेका छन्।

सोमबारदेखि बढेको अत्यधिक चिसोले ती प्रतिनिधिलाई निकै सताउन थालेको छ। मतपेटिका राखिएको ठाउँमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आ-आफ्ना ताला लगाएका छन्। वाम गठबन्धनले मतपेटिका राखेको कोठाको ढोकामा काठ ठोकेर सिल लगाएको छ। वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि मतपेटिका सुरक्षाका लागि मतपेटिका राखिएको घरमा सुत्ने गरेका छन्।

कांग्रेसको तर्फबाट प्रतिनिधि बसेका ज्ञानेन्द्रबहादुर शाहीले राति दुई बजेसम्म वामका प्रतिनिधिसँग गफ गरेर जाग्राम बस्ने गरेको बताए। पार्टीले खटाएपछि ११ गतेदेखि लगातार मतपेटिका कुरिरहेको उनको भनाइ छ। ‘राति तीन घन्टा मात्र सुत्छौं। कहिलेकाहीँ आलोपालो पनि हुन्छ तर अहिले चिसोले निकै सताउन थालेको छ', उनले भने, ‘दिनभर सुत्छौं। दलका प्रतिनिधि पनि आलोपालो गरेर मतपेटिका कुर्ने गरेका छौं।'

जाजरकोटमा सुरक्षा चुनौतीका कारण मतपेटिका राखिएको स्थान भएर जाने बाटो बन्द गरिएको छ। भेरी नगरपालिका-३ ठाँटी बजारदेखि माथिल्लो थाप्ले आवतजावत गर्ने बाटो बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म बन्द गरिएको छ। बाटो बन्द भएकाले सर्वसाधारणले आवतजावतमा कठिनाइ भएको गुनासो गरेका छन्। मतपेटिका राखिएको स्थानवरिपरि सुरक्षा व्यवस्था कडा गरिएको छ।

मतपेटिकाको भरपर्दाे सुरक्षा व्यवस्था गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको तीन घेरा बनाएर सुरक्षा व्यवस्था मिलाइएको छ। मतपेटिका राखिएको स्थान मुख्य निर्वाचन अधिकृतको कार्यालय थाप्ले र खलंगाको ठाँटी बजारस्थित वृद्धा श्रमको भवन वरपरको सुरक्षा व्यवस्था पनि निकै कडा पारिएको छ। स्थानीय प्रशासनले मतपेटिकाको सुरक्षाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालत र वृद्धा श्रम केन्द्रमा जाने बाटो तथा आसपास क्षेत्रमा समेत हिँडडुल गर्ने सर्वसाधारणमाथि कडाइ गरिएको छ।

स्थानीय प्रशासनले सूचना जारी गरेर साँझ सात बजेपछि स्थानीय ठाँटी बजारबाट जिल्ला हुलाक हुँदै वृद्धा श्रम केन्द्र, जिल्ला अदालत र थाप्ले जाने बाटोमा हिँडडुल गर्न नपाउने जानकारी गराएको छ। बाटोसमेत बन्द गर्दा आवतजावतमा निकै समस्या परेको स्थानीय रामजंग शाहले बताए। राति हिँडडुल गर्न प्रतिबन्ध छ, अघोषित रूपमा कफ्र्युजस्तै छ भने सुरक्षाकर्मीले काँडेतार लगाएकाले अत्यावश्यक काममा समेत बाधा पुगेको छ।

बाटोमा अत्यावश्यक काम परेर हिँड्नुपर्ने भए मुख्य निर्वाचन अधिकृतको अनुमति लिनुपर्ने स्थानीय प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ। मतपेटिकाको सुरक्षा र मतगणनालाई शान्तिपूर्ण र व्यवस्थित ढंगबाट सम्पन्न गर्न सुरक्षा व्यवस्था चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए। दुई स्थानमा राखिएका मतपेटिकाको सुरक्षा र मतगणनालाई व्यवस्थित बनाउन विशेष सुरक्षा दस्ता परिचालन गरिएको उनको भनाइ छ।

प्रत्यक्षतर्फका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय र समानुपातिक तर्फका मतपेटिका वृद्धा श्रम केन्द्रको हलमा राखिएको छ। विगतमा जस्तो यसपटक मुख्य निर्वाचन अधिकृतको कार्यालयको मूलगेटबाहिर पनि सर्वसाधारण र दलका कार्यकर्ताले बस्न नपाउने प्रमुख जिल्ला अधिकारी शाहीले बताए। वृद्धा श्रममा समानुपातिक तर्फका मतपेटिका राखिएको हुँदा जिल्ला हुलाक कार्यालयभन्दा अघि सर्वसाधारण र दलका कार्यकर्ता एवं समर्थकहरू आउन नपाउने शाहीको भनाइ छ।

मतगणनामा खटिने कर्मचारी, दलका प्रतिनिधि, उम्मेदवार र केही सञ्चारकर्मीबाहेक कसैलाई पनि मतगणनाका बेला मुख्य निर्वाचन अधिकृतको कार्यालय र वृद्धा श्रम केन्द्रनजिक जम्मा हुन, हिँडडुल गर्न र अन्य गतिविधि गर्न नपाउने भएको छ। उता, मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले मंसिर २१ गते साँझ ५ बजेदेखि मतगणना सुरु गर्ने गरी तयारी गरिएको बताए।

उनले सुरुमा प्रतिनिधिसभाको तीन ठाउँमा गणक राखेर गणना गर्ने र पछि मात्र प्रदेश सभाका लागि मतगणना गरिने बताए। प्रत्यक्ष तर्फको गणना सकिएपछि समानुपातिक तर्फको मतगणना गरिने उनको भनाइ छ। मतगणनाका बेला उम्मेदवार दलका एजेन्ट गणना स्थलमा रहने र पत्रकारलाई कार्यालय परिसरमा रिपोर्टिङका लागि बस्ने व्यवस्था मिलाइने मुख्य निर्वाचन अधिकृत गिरीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ६ समाचार