• निर्वाचन समाचार
advertisement

मोरङमा ६५ प्रतिशत मतदान

किशोर बुढाथोकी/कुमार लुइँटेल | बिहिबार, २१ मङि्सर २०७४


विराटनगर ५ मा रहेको कोचाखाल मतदान केन्द्रमा मत खसाल्न लामबद्ध मतदाताहरु। तस्बिरः बासु पौडेल

विराटनगरः दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मुलुककै सबैभन्दा बढी मतदाता रहेको मोरङमा ६५ प्रतिशत मत खसेको छ। 

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको हो। मतदाताले जिल्लाका तीन सय मतदान स्थलका सात सय ५८ केन्द्रमा ढुक्क भएर मतदान गर्ने अवस्था बनेका कारण पनि निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी खतिवडाले दिए। उत्साहपूर्वक रुपमा मतदान प्रक्रियामा मतदाता सहभागी भएको उनले बताए। सबै मतदान केन्द्रमा विहान सात बजेबाटै मतदान सुरु भएको थियो। 

चिसोका कारण विहानै मतदान गर्न मतदाता आउन नसके पनि नौ बजे पछाडिबाट भने मतदान केन्द्रमा भीड बढेको थियो । दिनभर सुरक्षाकर्मीलाई भने भीड व्यवस्थापनमा सकस परेको थियो। बढी मतदाता रहेको विराटनगरको महेन्द्र मोरङ क्याम्पस र कोचाखाल मतदान केन्द्रमा अलि ढिला गरेर मतदान सम्पन्न भएको थियो।

साँझ ५ बजेसम्मको मात्रै समय तोकिए पनि मतदान गर्न नसकिएपछि यी दुई मतदान केन्द्रमा साँझ ५ः४५ बजेसम्म लगाएर मतदान सम्पन्न गरिएको हो । मुख्य निर्वाचन अधिकृत खतिवडाले समयमै मतदान केन्द्रभित्र प्रवेश गरेका र तोकिएको समयमा मतदान गर्न नभ्याएकालाई आफ्नो अधिकारबाट बन्चित नगराउनका लागि पनि केही समय थप गरेर मत खसाल्ने वातावरण बनाइएको बताए । 

उनका अनुसार सबै केन्द्रमा मतदान सम्पन्न भएका कारण मुचुल्का उठाएर मत पेटिकालाई व्यवस्थित गर्ने काम गरिएको छ। खतिवडाले शुक्रबार विहानसम्ममा सुरक्षा रुट अनुसार मतपेटिका संकलन गरिसकिने बताए। मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट मतपेटिका ओसार्न अलि समय लग्ने भएका कारण विराटनगर सम्म ल्याई पु¥याउन विहान नै हुने उनले बताए।

मतदान सकिए लगत्तै क्षेत्र नम्बर ६ बाट उच्च सुरक्षाका साथमा मतपेटिका ओसार्न सुरु गरिएको उनको भनाइ छ। ‘सबै मतपेटिका सुरक्षित साथ ओसार्न सुरु गरिएको छ,' खतिवडाले भने, ‘शुक्रबार विहानसम्ममा संकलन गरी सक्ने गरी काम भइरहेको छ।' 

मोरङका सबै निर्वाचन क्षेत्रको मतगणना विराटनगरको आदर्श स्कुलमा गरिने छ । गणनाका लागि पनि सबै तयारी पूरा भएको उनले बताए। खतिवडाका अनुसार गणना प्रक्रिया सुरु गर्नका लागि शुक्रबार विहान ७ बजे सर्वदलिय बैठक बोलाइएको छ। सर्वदलिय बैठक सकिए लगत्तै गणनाको काम व्यवस्थित रुपमा सुरु हुने उनले बताए। 

‘जिल्ला भर मतदान शान्तिपूर्ण र सौहार्दपूर्ण वातावणमा सम्पन्न भयो,' मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले भने, ‘मतदान केन्द्रमा मत खसाल्नेको भीड अत्याधिक भए पनि त्यसलाई व्यवस्थित गर्न सकियो।' मोरङमा ६ लाख ४४ हजार सात सय ८२ मतदाता छन्। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

समाचार