• निर्वाचन समाचार
advertisement

चुनाव जित्न ‘महिलाको भर'

ललितबहादुर बुढा/गोविन्द देवकोटा | आइतबार, १० मङि्सर २०७४

प्रदेश ६ जुम्ला


जुम्लाको सिंजा क्षेत्रको बुढुमा मतदानको विषयमा छलफल गर्न जम्मा भएका महिला। अन्नपूर्ण

जुम्ला : कर्णालीका उम्मेदवारलाई यसपटक आफ्नो जित महिला मतदाताको भरमा देखिएको छ। यहाँका अधिकांश पुरुष मतदाता मजदुरीका लागि भारतको कालापहाड पसेपछि गाउँमा महिला मतदाता मात्र बाँकी छन्। यही कारण आइतबार हुने निर्वाचनमा उम्मेदवारहरूलाई जितका लागि महिला मतदाताको भर पर्नुपर्ने अवस्था आएको हो।

खेतीको काम सकेर अधिकांश पुरुष रोजगारीका लागि भारत पसेका छन्, जसका कारण पुरुष मतदाताभन्दा महिला मतदाताको संख्या बढी छ। महिला मत निर्णायक हुने भएपछि यहाँका उम्मेदवार महिलालाई रिझाउन अन्तिम कसरतमा देखिएका छन्। मौन अवधि भए पनि उम्मेदवारहरू भित्रभित्रै महिला मतदाता रिझाउन लागेका हुन्।

जुम्लाको प्रदेशसभातर्फ क्षेत्र नम्बर १ मा स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार वाम गठबन्धन बलियो देखिएका छ। यो क्षेत्रमा एमाले र माओवादी केन्द्रका तर्फबाट नरेश भण्डारी र कांग्रेसबाट राजुसिंह कठायत उम्मेदवार छन्। कठायत आफ्नो जितका लागि महिला मतदातामाथि नै भर परेको देखिन्छ। उनले महिलाको मत तान्न पार्टीका महिला नेतालाई परिचालन गरेका छन्। उनले चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाललाई अघि सारेका हुन्।
‘यहाँ जितका लागि महिलाको मत निर्णायक छ', मेयर सेजुवालले भनिन्, ‘महिलाको मन जित्न सके उम्मेदवारले जित्ने अवस्था छ, त्यसकारण पनि हामीले आमा समूह र महिला सञ्जालहरूमा फोकस दिएका छौं।'

जुम्लामा मात्र होइन, कालिकोटमा पनि उम्मेदवारलाई जित्नका लागि महिलाकै भर पर्नुपर्ने अवस्था छ। गाउँमा अधिकांश पुरुष नभएको तथा महिलाको मतले हार–जितको फैसला गर्ने देखेपछि प्रदेशसभातर्फ क्षेत्र नम्बर १ का एमाले उम्मेदवार कुर्मराज शाही प्रचार अभियान सकेपछि महिला मतदाता फकाउन लागिपरे।

कर्णालीका जुम्ला, हुम्ला, कालिकोट, मुगु र डोल्पाका पुरुष दसैं र तिहार मनाएर हिँउदको समयमा मजदुरीका लागि भारत जाने गर्छन्। यसपालि पनि यहाँका अधिकांश पुरुष भारत पसेपछि निर्वाचनमा सहभागी हुन नपाउने भएका हुन्। जुम्लाको सिंजा क्षेत्रकी महिला अगुवा लक्ष्मीकन्या बुढाले भनिन्, ‘गाउँमा महिला मात्र बाँकी छन्, यसपालि उनीहरूकै भरमा उम्मेदवारले जित्ने अवस्था छ। जसले महिलालाई रिझाउन सके, उसले जित्ने पक्का नै छ।'

उनका अनुसार यति बेला उम्मेदवारले महिला मतदातालाई प्रभावित पार्न सक्ने महिला अगुवासँगको भेटघाटलाई बाक्लो बनाएका छन्। स्थानीय शिक्षिका र स्वयंसेविकाले महिला मतदातालाई बढी प्रभावित पार्ने देखिन्छ।उम्मेदवारहरूले मतका लागि हारगुहार गर्न थालेपछि महिलाहरू शक्तिकेन्द्रका रूपमै देखिएका छन्। महिलाहरूले खानेपानी समस्या समाधानको एजेन्डालाई मुख्य प्राथमिकता दिएका छन्। 

महिलाहरू भान्सासँग जोडिएकाले आफूहरूले खानेपानीको समस्या झेल्नुपरेको सिंजा गाउँपालिका शनिगाउँकी गोरीकला बुढाले बताइन्। भनिन्, ‘पहिला त कसैले वास्ता गर्थेनन्, यसपालि त नेताहरू घरीघरी भोट माग्न आएका छन्। जसले खानेपानी ल्याउँछ यसपालिको भोट उसलाई नै दिने हो।'

 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ६ समाचार