• निर्वाचन समाचार
advertisement

प्रदेश १ मा चुनावी अभियान बढाउँदै उम्मेदवार

सोमबार, ११ मङि्सर २०७४

प्रदेश १ मोरंग


विराटनगरको हड्ताली हाटमा शुक्रबार कांग्रेसले गरेको आमसभामा सहभागी सर्वसाधारण सभामा पार्टीका प्रतिनिधिसभा उम्मेदवार अमृत अर्याललगायत । तस्बिर : कुमार लुइँटेल

विराटनगर ब्युरो :  प्रदेश १ का जिल्लाहरूमा अहिले उम्मेदवारहरूले चुनावी अभियान तीब्र पारेका छन् । उम्मेदवारहरू प्रतिस्पर्धी दलपूर्वप्रधानमन्त्री तथा इलाम १ का एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार झलनाथ खनालले सन्दकपुर गाउँपालिकाको देउरालीमा आमसभा गरे । उनी घरदैलो र कार्यकर्ता भेटघाटसँगै चुनावीसभा गरेर मतदातासँग भोट मागिरहेका छन् । खनाल सक्रिय भएसँगै इलाममा चुनावी सरगर्मी निकै बढेको छ ।

खनाल भन्छन, ‘अब चुनावपछि वाम गठबन्धनले स्थायी सरकार बनाउनेछ । त्यसपछि विकासले गति लिनेछ ।’ मुलुक समृद्धिको हिसाबले नयाँयुगमा प्रवेश गर्ने दाबी गर्दै खनालले इलाम र त्यहाँका जनताको भलो हुने काम गर्न आफूले समेत कमजोरी नगर्ने आश्वासन दिंदै चुनावी अभियानमा सक्रिय भइरहेका छन् ।

खनालका प्रतिस्पर्धी कांग्रेसका भूपेन्द्र कट्टेलले शुक्रबार सूर्योदय नगरपालिकाको फिक्कलमा चुनावी कार्यक्रमलाई सम्बोधन गरे । राणा, पञ्चायत र राजाको निरंकुशताबाट जनतालाई कांग्रेसले मुक्ति दिएको दाबी गर्दै भने, ‘अहिलेको वाम गठबन्धन कम्युनिस्ट सत्ताकै लागि हो ।’

इलामको लारुम्बाबाट चुनावी यात्रा शुरु गरेका एमालेका नेता सुवास नेम्बाङले शुक्रबार देउमाई नगरपालिकाको जीतपुरमा आमसभामा गरे । चुनावी अभियान अन्तर्गत नेम्बाङलाई कतै घरदैलो त कतै नवप्रवेशीलाई माला लगाउँदैमा फुर्सद छैन ।

 उनले दैनिक एउटा आमसभा र अनगिन्ती राजनीतिक तथा कार्यकर्ता भेटघाटहरु भ्याउनु परेको छ । ‘संविधान निर्माणको पहलकदमी र गणतन्त्रको संस्थागत विकासको यात्रा एमालेले नै थालेको हो,’ नेम्बाङले भने, ‘आफ्नो क्षेत्रको स्थानीय विकास निर्माणमा पनि व्यक्तिगत रुपमा प्रशस्त काम गरेको छु ।’ अहिलेको वाम गठबन्धनले देशलाई स्थायी सरकार दिने दाबी गर्दै नेम्वाङले चुनावी सभाहरुमा ‘यो गठबन्धन देशलाई माया गर्नेहरुको मिलन हो’ भन्दै अथ्र्याउन प्रयास गरेका छन् ।

प्रतिनिधिसभामा इलामको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका उनी केही दिनयता चुनावी आमसभामा सहभागी बनिरहेका छन् । चुनावी माहोल तात्तिँदै जाँदा प्रमुख राजनीतिक दलले घरदैलो अभियानसँगै चुनावी सभा र आमसभालाई घनीभूत बनाएका छन् । चुनावी सभाहरुमा नेताले आफ्नै ‘एजेन्डा र योजनाको फेहरिस्तको डम्फू’बजाउने गरेका छन् ।

प्रदेश १ का विभिन्न जिल्लामा उम्मेदवारहरू चुनावी अभियानलाई तिब्रता दिइरहेका छन् । चुनावी सभा, घरदैलो जस्ता प्रचार अभियानले मतदातालाई आकर्षित गर्ने प्रयत्न गरिरहेका छन् ।

नेम्बाङका प्रतिस्पर्धी कांग्रेसका केशव थापाले पनि चुनावी आमसभा सुरु गरेका छन । शुक्रबारमात्रै पुवामझुवा र नेपालटारको चुनावीसभामालाई सम्बोधन गरेका थापा भन्छन्, ‘इलामको विकास निर्माणलाई उत्कर्षमा पुर्‍याउने अभियान मेरो पनि हो ।’ आफू सांसद भएपछि नेतृत्व लिएको र विकासले विगतभन्दा गति प्राप्त गरेको थापा दाबी गर्छन ।

धनकुटामा दलले चुनावी सभालाई तीव्र पारेका छन् । धनकुटामा लोकतान्त्रिक र वाम गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा हुँदैछ । दुबै गठबन्धनले चुनावी प्रचारलाई तिव्रता दिएका छन् ।

वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राई उम्मेदवार छन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री सुनिलवहादुर थापा चुनावी मैदानमा छन् ।

त्यस्तै, प्रदेशसभा अन्र्तगत धनकुटा क्षेत्र नं. १ मा वाम गठबन्धनवाट एमाले धनकुटाका उपसचिव निरन राई र क्षेत्र नं. २ मा प्रदेश सल्लाहकार सदस्य इन्द्रमणि पराजुली उम्मेदवार छन् ।
यता, लोकतान्त्रिक गठबन्धनबाट धनकुटा १ मा कांग्रेस धनकुटाका पूर्वसभापति तथा निवर्तमान सांसद मनोहरनारायण श्रेष्ठ र क्षेत्र २ मा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अर्जुन थापा उम्मेदवार छन् ।

वाम गठबन्धनले जिल्लाका ७० स्थानमा चुनावी सभा सम्पन्न गरिसकेको वाम प्रचार समितिका प्रमुख नैन रुचाल जानकारी दिए । वाम गठबन्धनमा साझा उम्मेदवारबाहेक समानुपातिकका उम्मेदवार, एमाले, माओवादी केन्द्रका जिल्लादेखि केन्द्रीयस्तरका नेताले चुनावी सभालाई सम्बोधन गरेका थिए ।
यता, लोकतान्त्रिक गठवन्धनले पनि चुनावी सभालाई तीव्र बनाएको गठवन्धनका प्रवत्ता विजयसन्तोषी राईले बताए । पहिलो चरणमा जिल्लाको दुई प्रदेशसभा क्षेत्रमा ८० भन्दा बढी स्थानमा चुनावी सभा गरिने उनले बताए । लोकतान्त्रिक गठबन्धनको घरदैलो अभियान भइरहेको छ ।

झापामा प्रमुख दलले प्रचारप्रसारलाई तीव्र पारेका छन् । जिल्लामा वाम गठबन्धन र कांग्रेसबीच प्रतिस्पर्धा हुने क्षेत्रमा शीर्ष नेताको उपस्थितिमा आमसभामा जोड दिइएको छ । सभा गर्न दलहरुमा प्रतिस्पर्धा नै चल्न थालेको छ । वाम गठबन्धनले दमकमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा पूर्वकै पहिलो आमसभा आयोजना गर्‍यो ।

 काँकडभिट्टामा पनि अध्यक्ष ओलीकै आतिथ्यमा अर्को सभा भयो । ओलीले ती सभामा भने, ‘अब मुलुक र मुलुकवासीको हित वाम गठबन्धनले मात्र गर्न सक्छ ।’ दाहालले पनि विश्वासको जनमत आफूहरुको पक्षमा गर्न आग्रह गरे । कांग्रेसले पनि घरदैलो कार्यक्रम र चुनावी सभालाई बढावा दिएको छ । 

उसले झापाको गौरदाहमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा आमसभा गर्दैछ । क्षेत्र नम्बर ३ मा पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र युवा नेता विश्वप्रकाश शर्मा चुनावी सभाहरुमा व्यस्त हुन थालेका छन् । सिटौलाले भने,‘अब घरदैलोसँगै चुनावी सभामा पनि ध्यान केन्द्रित गरिएको छ ।’ उनको प्रतिस्पर्धामा राप्रपाका महामन्त्री राजेन्द्र लिङदेन छन् । झापाको दमकमा विवेकशील साझा पार्टीले शनिबार पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनाको उपस्थितिमा चुनावीसभा गर्दैछ ।

मोरङमा पनि प्रमुख राजनीतिक दलले घरदैलोलाई साथै अघि बढाउँदै चुनावी सभामा आफ्नो ध्यान केन्द्रित गरेका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारहरु चुनावी सभाको संख्या क्रमश बढाउँदै लगेका छन । मोरङ ५ अन्तर्गत विराटनगरको हड्तालीहाटमा शनिबार कांग्रेस उम्मेदवार अमृत अर्यालले चुनावी सभा गरेका छन ।

ट्रेड युनियन कांग्रेसले आयोजना गरेको सभामा अर्यालले भने, ‘संविधानको पूर्ण कार्यान्वयन र मधेशी जनताको अधिकार स्थापित गराउने काम अब कांग्रेसकै अगुवाइमा हुनेछ ।’ मोरङमा कांग्रेसका डा. शेखर कोइराला, महेश आचार्य र डा. मिनेन्द्र रिजाल पनि चुनावी सभामा व्यस्त हुन थालेका छन् । शनिबार डा. शेखर र महेशले अलग अलग चुनावी सभा आयोजना गर्ने पार्टीका सचिव मोदराज घिमिरेले जानकारी दिए ।

एमालेबाट मोरङ ६ का उम्मेदवार लालबाबु पण्डित घरदैलोसँगै कार्यकर्ता भेटघाट र चुनावी सभाहरुमा व्यस्त हुन थालेका छन् । पण्डित भन्छन्, ‘चुनाव सम्मुख आएकोले अहिले निकै धपेडी बढेको छ । क्षेत्र ठूलो भएकोले सबै ठाउँमा घरदैलो सम्भव नहुने भएकोले पनि चुनावी सभाहरुमा केन्द्रित हुनुपरेको छ ।’ मोरङ ३ बाट एमालेका भानुभक्त ढकालको समर्थनमा पार्टी अध्यक्ष केपी ओलीको उपस्थितिमा एउटा आमसभा गरेर घरदैलो अभियानमा व्यस्त बनेका छन् ।

त्यहाँ ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा अर्को सभा पनि गर्ने पार्टीले तयारी गरेको छ । माओवादी केन्द्रका मोरङ ५ का उम्मेदवार शिवकुमार मण्डल पनि चुनावी सभामा व्यस्त बनेका छन ।

सुनसरीमा कार्यकर्ताको बढी उपस्थिति देखाएर शक्ति प्रर्दशन गर्दै दल घरदैलो अभियानमा जुटेका छन् । मंसिर चटारोमा धान थन्काउन व्यस्त रहेका जिल्लाका किसानहरुका घर-घरमा पुगेर वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु यतिबेला गाउँबस्तीमा जान थालेका छन् ।

सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका वाम गठबन्धनबाट एमालेका जयकुमार राई र संघीय समाजवादीका अशोक राई आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरी भोट मागिरहेका छन् । यस क्षेत्रमा वाम गठबन्धनका प्रदेशतर्फका उम्मेदवार प्रदीप भण्डारी, भीम आचार्य र लोकतान्त्रिक गठबन्धनका किशोर राई र बुद्धि कट्वालले पनि घरदैलो गरी भोट मागिरहेका छन्।

प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर २ मा वाम गठबन्धनका डम्बर सुवेदी, लोकतान्त्रिक गठबन्धनका सीताराम महेताले पनि घरदैलो अभियानलाई तीव्र पारेका छन् । क्षेत्र नम्बर ३ मा कांग्रेसका नेता तथा उपप्रधानमन्त्री विजय गच्छदार र एमालेकी भगवती चौधरीले चुनावी अभियानमा सक्रिय बनेका छन । क्षेत्र नम्बर ४ मा समेत कांग्रेसका उम्मेदवार अर्थमन्त्री ज्ञानेन्द्र कार्की र बाम गठबन्धनका रमेश श्रेष्ठले घरदैलो अभियानलाई प्राथमिकता दिएका छन ।
उम्मेदवार र मतदातबीच सन्निकटताको लागि घरदैलो अभियानलाई जोड दिइएको कांग्रेस उम्मेदवार किशोर राईले बताए ।

(कुमार लुइँटेल, रत्न आचार्य, तोयानाथ भट्टराई, हरिबहादुर लम्जेल र लोकनाथ रिजाल)

 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

nepal_election_news

पर्वत समानुपातिकमा एमाले पहिलो दल

पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

nepal_election_news

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...

प्रदेश १ समाचार